Saturday, June 6, 2009

दुई सय मेगावाट ३ वर्षपछि मात्र

काठमाडौं, जेठ २२ (नागरिक)- नेपालले भारतबाट दीर्घकालका लागि खरिद गर्न लागेको बिजुली ८ रुपैयाँ भन्दा कम प्रतियुनिट हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले जनाएका छन्।

उनले प्रति युनिट ५ रुपैयाँ २० पैसा खरिद गर्न नेपाली पक्षले भारतीय उर्जा दलाल कम्पनी पिटिसीसँग वार्ता गरिने बताए। तर यस्तो विजुली ३ वर्षपछि मात्र खरिद गर्न सकिने श्रेष्ठले बताए। उनले भने- 'आगामी ३ वर्ष बढि क्षमताको अन्तरदेशीय प्रसारण लाइन बनाउन समय लाग्छ।'

सुख्खा याममा माग भन्दा आधा कम विद्युत आपूर्ति हुँदा नेपालमा १६ घण्टासम्म लोडसेडिङ गर्नुपरेको थियो। अहिले वर्षायाममा खोलाको सतह बढेर बढी विजुली उत्पादन भएका कारण लोडसेडिङ चार घण्टामा झारिएको छ ।

नेपाल अघिल्लो सरकारको मन्त्रीपरिषदले भारतबाट ३ सय देखी ५ सय मेगावाटसम्मको विद्युत बढिमा २५ वर्षका लागि खरिद गर्न सकिने निर्णय गरेको थियो । स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानद्वारा आयोजित जलविद्युत विकासका अवरोध विषयक शुक्रबारे छलफलका क्रममा उक्त कुरा बताएका हुन् । उनले भारतबाट २ सय मेगावाट भन्दा बढि किन्न नसकिने बताए ।

प्राधिकरणको बढ्दो घाटा र नौवर्ष देखी विद्युतको महसुल नबढाइएका कारण निजी पिपिएको दर नबढाइएको प्राधिकरणले स्पष्ट पारेको छ । श्रेष्ठले विद्युत खरिद सम्झौताको दरको बारेमा निजी क्षेत्रसँग बसेर सल्लाह गर्न सकिने बताए ।

जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमितपत्रको शुल्क कम राखेर नेपालले आम्दानी गर्न सक्ने अर्बौ रुपैयाँ गुमाएको प्राधिकराणका बोर्ड सदस्य सुजित आचार्यले बताएका छन् । उनले अनुमतिपत्रको शुल्क कम राख्नाले वास्तविक लगानीकर्ता भन्दा लाइसेन्स बेच्ने मध्यस्तकर्ताले फाइदा उठाएको बताए । उनले भारत र भुटानमा प्रति मेगावाट विद्युतको अनुमति पत्रका लागि भारतमा भारु २० लाख लिने गरेको बताए । उनले नेपालले पनि प्रतिमेगावाटको २० लाख रुपैयाँ लिएमा राजश्व पनि बढ्ने र सच्चा लगानीकर्ताले आयोजनाको अनुमतिपत्र पाउने बताए । पहिला आउनेलाइ लाइसेन्स दिने कुराले गलत व्यक्तिले फाइदा उठाएको आचार्यको भनाइ थियो ।

शुक्रवार, 05 जून 2009 21:24

http://www.nagariknews.com/economy/hydro-power/1686-2009-06-05-15-40-41.html

No comments:

Post a Comment