Saturday, May 16, 2009

४२ मेगावाटको योजनामा कोरियालीसँग सम्झौता

विकास थापा

काठमाडौं, जेठ १ - कोरियाली सरकारी कम्पनीले विद्युत् प्राधिकरणसँग मिलेर ४२ मेगावाटको माथिल्लो मोदी 'ए' आयोजना निर्माण गर्ने भएको छ । नेपालको जलविद्युत् आयोजना निर्माण, प्रसारण र वितरण इच्छुक कोरियन इलेक्टि्रसिटी एन्ड पावर कम्पनी (केपको) र प्राधिकरणबीच छिट्टै विद्युत् खरिद सम्झौता (पीपीए) हुने भएको छ । उत्पादित बिजुली प्राधिकरणले खरिद गर्नेछ ।

केपको कोरियामा ६० हजार मेगावाट विद्युत् शक्तिको उत्पादन, प्रसारण र वितरण गर्ने सरकारी निकाय हो । तत्कालीन जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाको औपचारिक भ्रमण गरेपछि दुई देशबीच जलविद्यत् क्षेत्रमा सहकार्यका लागि ढोका खुलेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठका अनुसार माथिल्लो मोदी 'ए' मा प्राधिकरणको ३० प्रतिशत सेयर हुनेछ, बाँकी केपको लगानी गर्ने योजना छ । प्राधिकरण आफैंले अध्ययन तथा पहिचान गरेको यो आयोजनामा हालसम्म भएका खर्चलाई आधार मानी त्यसअनुसार लगानी छुट्याइनेछ ।

प्राधिकरण र केपकोबीच २०६४ सालमा आयोजना निर्माण, प्रसारण तथा वितरणका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार प्राधिकरणले केपकोलाई अध्ययन भएको आयोजना दिने र संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको थियो । 'त्यही सहमतिअनुसार माथिल्लो मोदी 'ए' छानिएको हो,' श्रेष्ठले बिहीबार कान्तिपुरसित भने । आयोजना निर्माणको महत्त्वपूर्ण प्रक्रिया मानिएको विद्युत् खरिद सम्झौता दरसम्बन्धी प्राधिकरण र केपकोबीच छलफल भइरहेको श्रेष्ठले जानकारी दिए । केपकोले लागतमा आधारित पीपीए दरमा सम्झौता गर्न चाहेको छ । लागतअनुसार केपकोले प्रतियुनिट बिजुली ७ अमेरिकी सेन्ट (हालको मूल्यमा ५ रुपैयाँ ६० पैसा) भन्दा माथि प्रस्ताव गरेको छ ।

श्रेष्ठका अनुसार केपकोले प्रस्ताव गरेको मूल्य प्राधिकरणले स्वीकार गरेको छैन । प्राधिकरणले मोदीको बिजुली दर ६ अमेरिकी सेन्ट वा काबेलीलाई दिएको रेटमा हुनुपर्ने अडान राख्दै आएको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको ३० मेगावाटको काबेलीका लागि प्राधिकरणले प्रतियुनिट ६ दशमलव ४ अमेरिकी सेन्टमा खरिद गर्ने निर्णय गरिसकेको छ । 'हामीले पनि काबेलीकै हाराहारीमा पीपीए गर्न चाहेका हौं,' श्रेष्ठले भने, 'छलफलकै क्रममा छौं, निक्र्याैल गर्न बाँकी छ ।

प्राधिकरण आफैंले अध्ययन गरेर निर्माण सूचीमा राखेको माथिल्लो मोदी कास्कीको चर्चित पर्यटकीय स्थल घान्द्रुक जाने बाटोमा पर्छ । यो आयोजनाको अनुमानित लागत १० करोड अमेरिकी डलर (हालको मूल्यमा झन्डै आठ अर्ब रुपैयाँ) छ ।

सुरु अनुमानित लागत समीक्षा गरी नयाँ लागत पत्ता लगाउन प्राधिकरणले एक समिति गठन गरेको पनि श्रेष्ठले बताए । उक्त समितिले आयोजनाको कुल लागत र त्यसअनुसार पीपीए दर तय गर्नेछ ।

केपकोले माथिल्लो मोदी निर्माण गरे नेपालमा कोरियन सरकारको सहयोगमा बन्ने यो दोस्रो आयोजना हुनेछ । यसअघि कोरिया सरकारले प्राधिकरणले निर्माण गर्न लागेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको इलेक्ट्रो- मेकानिकल संरचनालाई चार करोड ५० लाख अमेरिकी डलर बराबरको नरम ऋण दिन सहमत भइसकेको छ ।

Posted on: 2009-05-14 21:40:53
http://www.ekantipur.com/nepali/kolnepalinews.php?&nid=194332

No comments:

Post a Comment