Wednesday, April 1, 2009

प्रधानमन्त्री लगानीकर्तासँग, जलविद्युत् परियोजनाका लागि लगानीमैत्री वातावरण

ओम थापा

काठमाडौँ, चैत १८ गते । नर्वे भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको जलविद्युत् परियोजनामा लगानी गर्दै आएका लगानीकर्तालाई भेट गर्नुभएको छ । लगानीकर्तालाई भेट्न प्रधानमन्त्री प्रचण्ड नेपालका जलविद्युत् परियोजनामा लगानी गर्दै आएका स्टाटक्राफ्ट र एसएन पावरको कार्यालय पुग्नुभएको थियो ।

स्टाटक्राफ्ट नर्वे सरकारको लगानीमा स्थापित सरकारी स्वामित्वको संस्थान हो भने एसएन पावर स्टाटक्राफ्ट र अर्को सरकारी संस्थान नरफण्डको संयुक्त लगानीमा स्थापित कम्पनी हो । स्टाटक्राफ्ट र एसएन पावरले जलविद्युत् परियोजना विकास गर्छन् भने नरफण्डले कमजोर अवस्थाका मुलुकमा लगानी गर्न नर्वे सरकारका तर्फबाट वित्तीय स्रोतको व्यवस्थापन गर्छ ।

हिमाल हाइड्रो पावरको ५७ प्रतिशत सेयर रहेको एसएन पावरले नेपालमा ६० मेगावाटको खिम्ती जलविद्युत् परियोजना विकास गरेको छ । थप दुई परियोजनामा लगानीका लागि अध्ययन गर्दैछ । एसएन पावरका नेपाल निर्देशक डा. सन्दीप शाहका अनुसार एसएन पावरले ५० मेगावाटको किर्ने जलविद्युत् परियोजना र छ सय मेगावाटको तामाकोसी तेस्रो जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन तयार गरिरहेको छ । निर्देशक डा. शाहका अनुसार यी दुईवटा परियोजनामध्ये किर्ने जलविद्युत् परियोजनामा पाँच अर्ब ६० करोड रुपियाँ -नौ करोड अमेरिकी डलर) र तामाकोसी तेस्रोमा एक खर्ब २० अर्ब रुपियाँ -एक अर्ब ५० करोड अमेरिकी डलर) लगानी गर्दैछ ।

नर्वेको ओस्लोस्थित एसएन पावरको कार्यालयमा पुगेपछि प्रधानमन्त्री प्रचण्डले यी दुईवटा परियोजनामा लगानी गर्ने निर्णयको स्वागत गर्नुभएको थियो । उहाँले जलविद्युत् परियोजनामा लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धतासमेत जनाउनुभएको एसएन पावरले ओस्लोबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एसएन पावरका प्रमुख कार्यकारी अधिकृत ओइस्टेन एण्डरसनले नेपालको जलविद्युत् विकासमा एसएन पावर सहकार्य गर्न तयार रहेको सन्देश दिनुभएको थियो । उहाँले जलविद्युत् क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकोसमेत बताउनुभयो ।

एण्डरसनले नर्वेमा जलविद्युत् विकासका लागि थुप्रै दशक लागेको स्मरणसमेत गराउनुभएको थियो । उहाँले भारतमा कोइलाबाट विद्युत् निकालिरहँदा नेपालबाट जलविद्युत् निकालेर भारतमा बिक्री गर्न सकिनेसमेत बताउनुभएको थियो ।

नर्वेले जलविद्युत्मा काम गर्दा युरोपको अवस्था र अहिले नेपालले जलविद्युत् परियोजनामा काम गरिरहँदा भारतको अवस्था उही छ, यसले पनि नेपालमा तीव्र्र गतिमा जलविद्युत् विकास गर्ने सम्भावना एण्डरसनले प्रधानमन्त्री प्रचण्डलाई देखाउनुभएको थियो ।

दक्षिण एसियाका लागि एसएन पावरका कार्यकारी उपाध्यक्ष नादिया सुदले नेपाल एसएन पावरका लागि विकास साझेदार हुने बताउनुभयो । उहाँले नेपालका जलविद्युत् परियोजना विकासमा वैदेशिक लगानी आवश्यक भएकोसमेत बताउनुभयो । उपाध्यक्ष सुदले नेपालमा अझै पनि लगानी वातावरण बनिनसकेको बताउनुभयो । उहाँले नेपाललाई जलविद्युत् परियोजनासम्बन्धी थुप्रै ऐन कानुनमा सुधार गर्न आग्रहसमेत गर्नुभयो । उहाँले ती ऐन कानुनमा हुने सुधारले एसएन पावर मात्र नभई अन्य लगानीकर्ता पनि नेपाल भित्रिने आशा व्यक्त गर्नुभयो ।

प्रत्युत्तरमा प्रधानमन्त्री प्रचण्डले नेपालको प्राथमिकता जलविद्युत् भएको र लगानी आकर्षणका लागि सरकारले काम थालिसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सन् २०२० सम्म १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी सरकारले काम थालेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सन् १९०५ मा नर्वे स्वतन्त्र हुादा जुन अवस्था थियो, त्यो अवस्था अहिले नेपालको भएको जानकारी नर्वेली अधिकारीलाई दिनुभएको थियो । स्वतन्त्र हुादा नर्वे युरोपको गरिब मुुलुक थियो, आज सम्पन्न छ, परिवर्तन भएको नेपाल गरिब छ, यसलाई सम्पन्न बनाउनु छ- प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । "त्यतिबेला नर्वेका लागि लगानी चाहिएको थियो, अहिले नेपालका लागि", प्रधानमन्त्री प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भन्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिमा मात्र लोकतन्त्रको स्थायित्व हुने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले मङ्गलबार नै स्टाटक्राफ्ट जलविद्युत् परियोजनाको स्वामित्वमा रहेको नर्वेको सबैभन्दा पुरानो जलविद्युत् परियोजना सल्बर्गफसको अवलोकनसमेत गर्नुभएको थियो ।

एसएन पावरका नेपाल निर्देशक डा. शाहका अनुसार सल्बर्गफस नर्वेको पुराना जलविद्युत् परियोजनामध्येको एक हो । सन् १९२४ मा निर्माण गरिएको ११० मेगावाटको सो परियोजनालाई सन् २००५ मा आधुनिकीकरण गरिएको थियो । सो परियोजना नर्वेको नमूना परियोजनासमेत हो ।

प्रधानमन्त्री प्रचण्ड नर्वेपछि बुधबार फिनल्यान्डको भ्रमणका लागि निस्कांदै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार फिनल्यान्ड पुग्ने भ्रमणमा संलग्न प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार फिनल्यान्डका प्रधानमन्त्री माट्ट िभानहानेन, राष्ट्रपति तार्जा हालोनेन र वैदेशिक व्यापार तथा विकासमन्त्री पाभो भायरायनेनलाई भेट्ने कार्यक्रम रहेको फिनल्यान्डको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भेटका क्रममा नेपालको शान्ति प्रक्रिया र नयाा संविधान निर्माणको अवस्था, नेपाल-फिनल्यान्ड मैत्री सम्बन्ध, जलवायु परिवर्तन र ऊर्जा छलफलका एजेन्डा हुने पनि विदेश मन्त्रालयले जानकारी दिएको छ ।

राससका अनुसार नर्वेको भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र नर्वेका महालेखा परीक्षक जोर्गन कस्मोबीच भेटघाट भएको छ ।

भेटमा कस्मोले नर्वेको लेखापरीक्षणको पद्धति तथा अनुभवबारे जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिनुभयो ।

http://gorkhapatra.org.np/gopa.detail.php?article_id=16453&cat_id=14

No comments:

Post a Comment