Sunday, April 12, 2009

चीन भ्रमणमा प्रधानमन्त्रीले दुई विद्युत् आयोजना माग्ने

दिनेश कार्की, काठमाडौं चैत २९
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नेपालले एउटा परियोजना बनाइदिन र अर्कोको लागि ऋण दिन आग्रह गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण वैशाखको तेस्रो सातामा हुने तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। चीन भ्रमणको एजेन्डा तय गर्नुअघि प्रधानमन्त्रीले नेपाल विद्युत प्राधिकरण जलस्रोत मन्त्रालय सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका छन्।

सित्तैमा बनाइदिने र ऋण सहयोग उपलब्ध गराउने आयोजनाहरुको तयारीमा प्रधानमन्त्रीको कार्यालय जुटेको छ। जलस्रोत मन्त्रालय उच्च स्रोतका अनुसार केही चुनिएका परियोजनाहरुलाई नेपालले चीन सामू पेश गर्ने छ । ती परियोजनाहरुमा माथिल्लो सेती, नौस्यालगाड रहेको बताइएको छ। जाजरकोट जिल्लामा पर्ने चार सय मेगावाटको नौस्यालगाड आयोजना जलाशययुक्त परियोजना हो।

सम्भावित सवै दातृ निकायसँग नौस्यालगाड आयोजना बनाउन सरकारले आग्रह गरेपनि अगाडि बढ्न सकेको छैन। माथिल्लो सेती आयोजनामा पनि सरकारले जापान विश्व बैंक लगायतका दातालाई लगानी गर्न अनुरोध गरेको थियो।

माथिल्लो सेती पनि १ सय २७ मेगावाटको जलाशययुक्त परियोजना हो। प्राधिकरणले यसको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ। अर्थमन्त्री बाबुराम भट्टराइले केही महिना अघि गरेको जापान भ्रमणमा जापानलाई माथिल्लो सेती बनाइदिन गरेका थिए।

नर्वेसँग आयोजना माग्नु हुदैनथ्यो
प्रधानमन्त्री दाहालको नर्वे भ्रमणले नेपालको जलस्रोत क्षेत्रलाइ खासै उत्साहित नगरेको विश्लेषकहरुको टिप्पणी छ। नर्वेलाई नेपालका आयोजना बनाइदिनका लागि आग्रह गर्नुभन्दा दक्ष जनशक्ति उत्पादन गर्ने पोलिटेक्नीक संस्था बनाइदिन अनुरोध गर्न विज्ञले सुझाव दिएका थिए। त्यस्तो सुझावविपरित प्रधानमन्त्री दाहालले आयोजना बनाइदिन आग्रह गरेका थिए। जसको बारेमा नेपालले पर्याप्त गृहकार्य गरेको थिएन। नर्वेको फ्याक्ट फाइन्डिङ मिसनले पनि त्यसबारेमा छलफल गरेको थिएन।
´ब्यापारिक उद्देश्यबाट निर्देशित भएको नर्वेलाइ सित्तैमा आयोजना माग्नु हुदैनथ्यो´- जलस्रोत मन्त्रालयका एक उच्च अधिकारीले भने। नर्वेले साना जलविद्युत आयोजनालाई प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता मात्र जाहेर गरेको छ। स्मल हाइड्रो पावर डेभलोपमेन्ट एसोसियसनका अध्यक्ष हरि बैरागी दाहाल प्रधानमन्त्रीको नर्वे भ्रमणबाट नेपालको जलस्रोत क्षेत्रले केही पनि नपाएको बताउँछन्। ´पर्याप्त गृहकार्य बिनाको भ्रमणको नतिजा यस्तै हुन्छ´-उनले भने।

- 2009-04-11 19:28:04
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6102

No comments:

Post a Comment