Wednesday, April 29, 2009

माथिल्लो सेती स्वदेशी लगानीमा बनाइने

काठमाडौं, वैशाख १६ - नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त माथिल्लो सेतीसहित दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । एउटा जलाशययुक्त र अर्को नदी प्रवाही गरी दुइटा आयोजना निर्माण प्रक्रिया यसै वर्षदेखि थालनी हुनेछ ।

माथिल्लो तामकोसी (३०९ मेगावाट) स्वदेशी लगानीमा निर्माण हुने निश्चित भएपछि सरकारले आन्तरिक स्रोत परिचालन गरेर अरू जलविद्युत् आयोजना निर्माण गर्न हिम्मत मिलेको हो । स्रोतका अनुसार अध्ययन गर्नुनपर्ने र डिजाइनसमेत पूरा भएका दुई आयोजना निर्माणको घोषणा आउँदो बजेट वक्तव्यमार्फत गर्ने तयारी जलस्रोत मन्त्रालयले गरेको छ । ती दुई आयोजनामा तनहुँ सदरमुकाम नजिकैको जलाशययुक्त माथिल्लो सेती (१२७ मेगावाट) र अर्को सोलुखुम्बुमा पर्ने तल्लो सोलु (४० मेगावाट) छन् ।

प्रबर्द्धक आफैले गर्नुपर्ने लगानी (इक्विटी) सरकारले जुटाएपछि बाँकी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट उठाउने योजना जलस्रोत मन्त्रालयको छ । यसका लागि सरकारले छुट्टै कम्पनी वा कुनै निकाय स्थापना गरी वित्तीय व्यवस्था मिलाउने स्रोतले उल्लेख गर्‍यो । यसका लागि निश्चित समय, सीमा र बजेट तोकेर अलग्गै निकाय स्थापना गर्ने र त्यही निकायले आयोजना निर्माण गर्ने तयारी पनि मन्त्रालयले गरिरहेको छ ।

जलविद्युत्मा स्वदेशी स्रोत लगानी बढाउँदै लैजाने नीतिअनुसार यी दुई आयोजनामा आन्तरिक पुँजी परिचालन गर्न लागिएको हो । चिलिमे (२० मेगावाट) को निर्माणले गर्दा ३०९ मेगावाटको माथिल्लो तामाकोसी पनि स्वदेशी पुँजीबाट बन्ने निश्चित भइसकेको छ । 'अब तामाकोसीपछि जलाशययुक्त आयोजना पनि स्वदेशी स्रोतमै बन्छ भन्ने विश्वास दिलाउन जरुरी छ,' मन्त्रालयका ती अधिकारीले भने ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा अध्ययन तथा डिजाइन कार्य भइसकेको माथिल्लो सेतीका लागि सरकारले थुप्रै दाताका लागि अनुरोध पनि गर्दै आएको थियो । प्राधिकरणको स्वामित्वमा रहेको यो आयोजनाका लागि जापान सरकारसमक्ष अनुरोध पठाएको जानकारी प्राधिकरणको आयोजना विकास विभागका निर्देशक विष्णुबहादुर सिंहले बताए ।

निकैअघि जापान सरकारलाई अनुरोध पठाइए पनि उताबाट कुनै जवाफ नआएपछि सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी चीन भ्रमणमा अनुरोध गर्ने तयारी पनि गरेको थियो । प्रधानमन्त्रीको भ्रमणको अवसर पारेर 'उपहार माग्नु प्राधिकरणले तयारीसमेत गरिरहेको छ । मन्त्रालय स्रोतका अनुसार चीनले उपहार दिने नदिनेभन्दा पनि आन्तरिक खपतका लागि चाहिने आयोजना स्वदेशी श्रम, सीप र पुँजीबाट निर्माण गर्ने भन्दै तयारी गरेको हो । माथिल्लो सेतीको लागत ३४ करोड अमेरिकी डलर लाग्ने प्राधिकरणका निर्देशक सिंहले जानकारी दिए ।

राजधानी, पोखरा, भरतपुरजस्ता लोडसेन्टरदेखि अति नजिक, सडकजस्ता पूर्वाधार निर्माण गर्नुनपर्ने लगायतका कारणले माथिल्लो सेती स्वदेशी खपतका लागि आकर्षक देखिएको हो । हालसम्म कुलेखानी पहिलो र दोस्रो (९२ मेगावाट) मात्र जलाशययुक्त विद्युत्गृह छ । प्राधिकरणलाई प्रणाली सञ्चालनमा अरू कुलेखानीजस्ता आयोजना निर्माण गर्न दबाब परिरहेको छ ।

जलस्रोत मन्त्रालयको यो योजनाप्रति अर्थ मन्त्रालयसमेत सकारात्मक भएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयलाई आफ्नो योजनाबारे अवगत गराइसकेका छन् । 'यो विशुद्ध नेपाली लगानीमा बन्ने आयोजना हो, यसले नेपालीको आत्मविश्वासको फडको मार्नेछ,' जलस्रोतका एक अधिकारीले भने ।

अर्को पूर्वाञ्चलको सोलुखुम्बु जिल्लामा पर्ने तल्लो सोलु आयोजना पनि सरकारले आफ्नै लगानीमा निर्माण हुनेछ । विद्युत् विकास विभागले अध्ययन गराएको यो आयोजना रणनीतिक हिसाबले निर्माण गर्न लागिएको हो । पूर्वाञ्चलमा ६ मेगावाटभन्दा माथिका आयोजना हालसम्म निर्माण भएका छैनन् । 'पूर्वमा विद्युत्मार्फत विकास पुर्‍याउन चमेलिया (दार्चुला) को जस्तै गरी तल्लो सोलु निर्माण गर्न लागिएको हो ।'

Posted on: 2009-04-28 20:43:49
http://www.ekantipur.com/nepali/kolmain.php?&nid=191691

No comments:

Post a Comment