Saturday, April 25, 2009

शनिबारदेखि चौथो जलऊर्जा सम्मेलन

काठमाडौं, वैशाख ११ (नागरिक)- जलऊर्जा क्षेत्रमा लगानीको वातावरणको विश्लेषण गर्न शनिबारदेखि चौथो अन्तर्राष्ट्रिय हाइड्रो पावर सम्मेलन हुने भएको छ।

भारत, नेपाल र अन्य देशका लगानीकर्ता तथा विज्ञहरुले भाग लिने उक्त सम्मेलनमा जलऊर्जामा लगानीको वातावरणको सबै पक्ष केलाइने स्वतन्त्र उर्जा उत्पादक इप्पानका अध्यक्ष सन्दिप शाहले बताए।

भारतको पूर्वाधार विकासमा आधारित कम्पनी इण्डिया टेक फाउन्डेसनको व्यवस्थापनमा आयोजना हुन लागेको उक्त सम्मेलनका सह आयोजकहरु नेपाल उद्योग वाणिज्य महासंघ र स्वतन्त्र उर्जा उत्पादक संघ इप्पान रहेका छन्।

शनिबार र आइतबार चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा भारतको योजना आयोगका ऊर्जासम्बन्धी सदस्य किरिट पारिखलाई विशिष्ट अतिथिको रुपमा निम्त्याइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

शाहका अनुसार डेढसय सहभागीहरुले भाग लिन नाम दर्ता गरेका स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमा ६१ जना भारतबाट रहेका छन्। नेपालमा जलऊर्जा परियोजनाहरुमा लगानीको अवसर खोज्दै भारतीय लगानीकर्ताहरु सम्मेलनमा भाग लिन आउन लागेको ऊर्जा लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले बताए। उनले लगानीको अवसर खोज्दै नेपाल आउने लगानीकर्ताहरुलाई उचित वातावरण मिलाइदिन सरकारसँग आग्रह गरे।

नेपालको प्रगतिका लागि जलउर्जा नारा राखिएको सो सम्मेलनमा भारत सरकार तथा निजी क्षेत्रका करिब ५० प्रविधिविज्ञ काठमाडौं आइसकेका छन्।

http://www.nagariknews.com/economy/consumer/429-2009-04-24-12-16-05.html

No comments:

Post a Comment