Sunday, April 26, 2009

जलस्रोत विकास सबै दलको साझा एजेन्डा

काठमाडौँ, वैशाख १२ गते । नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्र्याउने उद्देश्यले आयोजित चौथो अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन शनिबारबाट राजधानीमा सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र इन्डियन टेक फाउन्डेसनको संयुक्त तत्वावधानमा आयोजित सो दुईदिने सम्मेलनको उद्घाटन सत्रमा भारत, नेपाललगायत विभिन्न मुलुकका जलविद्युत् विशेषज्ञले अहिलेको समयमा जलविद्युत् विकास सरकारी क्षेत्रबाट मात्र सम्भव नहुने हुनाले यसका लागि निजी र सार्वजनिक साझेदारी आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

सो सम्मेलनको उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गर्दै जलस्रोतमन्त्री विष्णु पौडेलले विगतमा जलस्रोतका विषयमा जति विवाद भए पनि अहिले सबै राजनीतिक दलका लागि जलस्रोतको विकास प्रमुख एजेन्डा बनेको बताउनुभयो ।

उहाँले सरकारले अहिले सबै जलविद्युत् परियोजनास्थलमा पर्याप्त सुरक्षाको व्यवस्था गर्न आवश्यक व्यवस्था मिलाएको बताउनुभयो ।

सरकार पञ्चेश्वर, सप्तकोसी उच्चबाँधलगायतका विषयमा विगतमा व्यक्त प्रतिबद्धताहरूलाई अगाडि बढाउन तत्पर रहेको पनि जानकारी गराउनुभयो । उहाँले सरकारले विद्युत् प्रसारण पूर्वाधार निर्माणका लागि ५० अर्ब रुपियाँ लगानी गर्ने निर्णय गरिसकेको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै जलस्रोतसचिव शङ्करप्रसाद कोइरालाले जलस्रोतको विकासका लागि आवश्यक विद्युत् ऐनलगायतका विधेयक अहिले व्यवस्थापिका संसद्मा विचाराधीन अवस्थामा रहेका र ती विधेयक पारित हुनेबित्तिकै विद्युत्का क्षेत्रमा लगानी गर्न धेरै सजिलो हुने बताउनुभयो ।

उहाँले निजी क्षेत्रको लगानीबिना जलस्रोतको विकास सम्भव नभए पनि निजी क्षेत्रको लगानीका विषयमा व्यावहारिक भएर सोच्दा देशको निजी क्षेत्रको हैसियतलाई पनि विचार गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपालका लागि भारतीय राजदूत राकेश सुदले नेपालमा जलविद्युत्को विकासबाट पहिलो नम्बरमा नेपालीलाई फाइदा पुग्ने र त्यसपछि मात्र भारतले लाभ लिनसक्ने बताउनुभयो ।

उहाँले भारतले अहिले भुटान, बर्मा र श्रीलङ्काबाट पनि थप विद्युत् खरिद गर्ने तयारी गरे पनि त्यसको मात्रा भारतको आन्तरिक उत्पादनभन्दा ज्यादै कम हुने बताउनुभयो । उहाँले आगामी दिनमा भारत आफैँ निकै महìवाकाङ्क्षी रूपमा विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अवस्थामा नेपालमा विद्युत्मा लगानी गर्दा ती कुरामा पनि सोच्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले नेपालमा विगतमा लामो समयसम्मको राजनीतिक अस्थिरताका कारण विद्युत्का क्षेत्रमा खासै लगानी हुन नसकेको बताउनुभयो ।

सो अवसरमा भारतको केन्द्रीय जलस्रोत आयोगका अध्यक्ष एके बजाजले नेपालको भौगोलिक अवस्थिति र भारतसँगको लामो सीमा जोडिएका कारण नेपालमा उत्पादित जलविद्युत्बाट नेपाल पनि लाभान्वित हुनसक्ने बताउनुभयो । सो अवसरमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालका अध्यक्ष सन्दीप शाहले सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने महìवाकाङ्क्षी योजनाबाट आफूहरू उत्साहित भए पनि त्यसलाई सचेततापूर्वक हेरिरहेको बताउनुभयो ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=17607&cat_id=14

No comments:

Post a Comment