Wednesday, April 1, 2009

दुई विद्युत् गृह भए पनि गाउँमा दियालो

राजबहादुर शाही

मुगु, चैत १८ - जिल्लास्थित रोवा गाविसमा २ विद्युत्गृह भए पनि गाउँले भने उज्यालोका लागि दियालो बाल्न बाध्य भएका छन् ।

जिविसले निर्माण गरेको २५ किलोवाटको नाके जलविद्युत् आयोजना २ वर्षदेखि बिगि्रएको छ । बिजुली बिगि्रएकाले स्थानीय झाकोट, चराप, गाँडापानी, जिउला, तल्लेख र घट्टालेख गाउँका २ सय ५० घरले सल्लाको दियालोमै निर्भर छन् ।

जिल्लाकै अर्को विद्युतगृहमा पनि ६ महिनादेखि बिजुली बलेको छैन । सालिम रोवा र्‍याङाकाटीका १ सय ६८ घरधुरीलाई लक्षित गरेर गरिबी निवारण कोष सहयोगमा बनाएको १३ किलोवाटको सालिम खोला लघु जलविद्युतको नहर र मेसिन बिगि्रएर उपभोक्ताले बत्तीको उज्यालो देख्न पाएका छैनन् । गाउँमा सबैतिर बिजुलीका खम्बा र घरमा बल्भ झुन्ड्याइएको छ । यो देख्दा बाहिरबाट आउने जो कोही आहा विकास भनेर रमाउँछन् । रोवाका धर्मसिंह कामीले भने, 'गाउँको वास्तविकता अर्कै छ, २ वर्षदेखि दियालोको उज्यालोमा बस्नुपरेको छ ।' नाके जलविद्युतको नहर मेसिन बिगि्रएपछि मर्मतका लागि गाउँलेले धेरै दुःख, कष्ट गरे पनि बत्ती बलेन । रोवा झाकोटका भुन नेपालीले भने, 'अब त पोल ढलिसक्यो, तार पनि चोरिएको छ ।'

गाउँमा बत्ती बलोस् भनेर १ सय ५० घरबाट सयका दरले रकम उठाइ मर्मत गर्दा २ महिना बत्ती बलेको थियो, स्थानीयवासीले बताए, 'त्यसपछि बिग्रेको नाकेमा अहिलेसम्मको कसैको आँखा परेको छैन ।' बत्ती बनाउनकै लागि सबै उपभोक्ताले गाविसलाई बजेट छुट्याउन आग्रह गरे । रोवा र्‍याङाकाटीका रूपसिंह दमाईले भने, यसबारे गाविस सचिवसँग धेरैपटक अनुरोध गर्दा १ लाख ९० हजार छुट्याएको छ । यो रकमले सालिम खोला जलविद्युत् गृह मर्मत गर्ने उनलो बताए ।

यो आयोजनाको २ ठाउँमा नहर भत्किएको छ भने मेसिनको बेरी बनाउन काठमाडौं पठाएको छ । आव ०५३/५४ मा निर्माण नाके साना जलविद्युत् र ०६३ मा सम्पन्न सालिम जिल्लाकै पहिलो र ठूला विद्युत्गृह हुन् । दुई आयोजना भए पनि दीर्घकालीन नहुँदा स्थानीयवासीलाई समस्या परेको छ । गरिबी निवारण कोषको २४ लाखको सालिम र ४४ लाख लगानीको नाके आयोजनाले गाउँभर तार र बिजुली फिजाएको छ तर बत्ती भने बलेको छैन ।

डीएफआईडी सहयोगमा निर्माण गरिएको निगाले गाउँको ८ किलावाटको माइक्रोहाइडो पनि वर्ष दिनदेखि बिगि्रएको छ । यसको पनि मर्मत संभारको काम हुने कुनै छाँटकाँट छैन ।

यसबारे स्थानीय विकास अधिकारी प्रेमराज गिरीको भनाइमा जिल्लाले विभिन्न गाविसमा बनेका विद्युत्गृह मर्मत र स्रोत भएका ठाउँमा नयाँ आयोजना निर्माण गर्ने १० बर्षे ऊर्जा नीति तयार पारेको छ ।

Posted on: 2009-03-31 20:01:01
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=187226

No comments:

Post a Comment