Wednesday, March 18, 2009

लोडसेडिङ अन्त्य गर्न भारतबाट बिद्युत खरीद गर्ने तयारी

काठमाडौं, चैत ४ - लोडसेडिङ अन्त्य गर्न सरकारले भारतबाट बिद्युत खरीद गर्ने तयारी गरेको छ । उर्जा संकटको सामधान खोज्न मंगलबार सिंहदरबारमा आयोजित छलफलमा भारतबाट ५ सय मेगावाट विद्युत खरीद गर्ने सहमति भएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतबाट ४ सय देखि ५ सय मेगावाट सम्म बिद्युत आयात गरी लोडसेडिङ अन्त्य गर्ने बताए । बिद्युत आयातका लागि राजनीतिक दल र सरोकारवालाहरुसंग छलफल गरिने उनले बताए । मुलुकमा बिद्युत क्रान्ति ल्याउने घोषणा गर्दै उनले सरकार नयाँ ढंगले अघि बढ्न लागेको जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिए । उर्जा संकट टार्न जनकपुर-ढल्केबर तथा ढल्केबर-काठमाडौं १३३ केभी प्रसारण लाइनलाई विस्तार गर्न तथा २५ देखि ५० मेगावाट सम्मका थर्मल प्लान्ट जडान का लागि प्रकृया सुरु गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई निर्देशन समेत दिएको शर्माले बताए । छलफलमा अर्थमन्त्री डा.बाबुराम भट्टराईले उर्जा संकट टार्न ल्याइने कार्यक्रमका लागि सरकारले बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलमा अधिकांश मन्त्रीका साथै विज्ञहरुको पनि सहभागिता थियो ।

Posted on: 2009-03-17 05:34:03
http://www.ekantipur.com/nepali/kolmain.php?&nid=185028

No comments:

Post a Comment