Thursday, March 26, 2009

वायु ऊर्जाको सम्भावना

समसामयिक
सम्पादकीय गोरखापत्र


केही वर्षअघि मुस्ताङको कागबेनीमा २० किलोवाट क्षमताको वायु ऊर्जाका लागि जडान गरिएको टावर त्यहाँको हावाको प्रचण्ड वेगको अघिल्तिर टिक्न सकेन, ढल्यो । पछिल्ला अध्ययन-विश्लेषणहरूबाट पर्याप्त अध्ययन नै नगरी अग्ला टावर स्थापना गरिएका कारण ती टावर ढलेको अनौपचारिक निष्कर्ष निकालिएको छ । उपयोगिताको हिसाबले त्यो परियोजना विफल भयो तर अध्ययन-अनुसन्धान प्रयोगको हिसाबले त्यो परियोजना सफल थियो र त्यसले नेपालमा वायु ऊर्जाको सम्भावनालाई अझ बढी टड्कारो रूपमा प्रस्तुत गर्‍यो ।

यसबीचमा एउटा लामो समययात्रा पार भइसकेको छ । ऊर्जा उत्पादनसम्बन्धी कतिपय अभिलेखमा नेपालमा पनि वायु ऊर्जाबाट बिजुली उत्पादन गरिएको थियो भन्ने कुराको चर्चा पनि हुन छाडेको छ । यद्यपि यसबीच केही प्राज्ञिक अभ्यास भएका छन् । नेपालका नीति निर्माणहरूमा कतै कुनामा पनि वायु ऊर्जालाई ठाउँ दिने गरिएको पाइन्छ । दसौं योजना -२०६४-२०५९) मा समेत वायु ऊर्जा विकासका लागि करिब २० जिल्लाको वायु म्यापिङ तयार गर्ने र वायुसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

२०६३ सालमा सार्वजनिक भएको मुलुकको ग्रामीण ऊर्जा नीतिमा पनि 'वायु ऊर्जाको सम्भाव्य स्थानहरूको नक्साङ्कन कार्य गरी वायु ऊर्जा गुरुयोजना तयार गर्ने कार्य सुरू गरिने' र 'वायु ऊर्जा विकासका लागि निजी क्षेत्रलाई संलग्न गराई प्रविधि हस्तान्तरण कार्यलाई अघि बढाइनेछ' भन्ने उल्लेख गरिएको छ । यस अवधिमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले समेत नेपालका विभिन्न क्षेत्रहरूमा वायु ऊर्जा उत्पादका सम्भावनाबारे थुप्रै अध्ययन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि यस दिशामा थुप्रै लगानी गरिसकेको छ । बेला बेलामा भएका अध्ययनहरूबाट काठमाडौै उपत्यकालगायत नेपालका विभिन स्थानमा वायु ऊर्जाबाट विद्युत् उत्पादन गर्ने पर्याप्त सम्भावना रहेको निक्र्याैल पनि निकालिएको छ । यद्यपि यस दिशामा ठोस रूपमा दृष्टिगोचर हुने काम भने हुनसकेको छैन । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा काठमाडौं उपत्यका वरिपरिका डाँडाकाँडाबाट कम्तीमा २० मेगावाट विद्युत् उत्पादन गर्ने उल्लेख गरिएको छ । तीन वषर्ीय अन्तरिम योजनामा भने वायु ऊर्जाको प्रसङ्ग केलाउँदा अत्यन्त निराश हुनुपर्ने स्थिति छ ।

यस्तो परिस्थितिमा अहिले बेलायतका वैज्ञानिकद्वय दान प|mेन्क र ब्याटम्यानको इन्टरनेट सहयोग र काठमाडौं इञ्जिनियरिङ क्याम्पसका अध्यापकहरू अखिलेश्वर मिश्र र रमेश श्रेष्ठको प्रत्यक्ष निर्देशनमा छजना विद्यार्थीले ३५० वाट बिजुली उत्पादन गरेको समाचारले फेरि एकपटक नेपालका योजनाविद्हरूसामु वायु ऊर्जा उत्पादनका सम्भावनातर्फ ध्यान तानेको छ । त्यसै बहेर खेर गइरहेको हावालाई विन्ड टर्बाइनकेा सहयोगबाट शक्तिमा परिणत गरी विद्युत् उत्पादन गरिन्छ । एउटा टर्बाइनको सहयोगबाट ५० देखि तीन सय किलोवाटसम्म विद्युत् उत्पादन गर्न सकिने भनाइ छ । हो, यसका लागि निश्चित निश्चित परिमाण र गतिमा हावामा चल्नुपर्ने हुन्छ । अहिले विभिन्न मुलुकले सौर्य ऊर्जाका अतिरिक्त हावाबाट विद्युत् उत्पादन गर्ने दिशामा ध्यान दिनथालेका छन् । यसले कतिपय सन्दर्भमा आणविक ऊर्जालाई समेत उछिनेको छ । नेपालले पनि यस प्रविधिबाट फाइदा लिनसक्छ र लिनु पनि पर्छ । नेपालको सन्दर्भमा वायु ऊर्जाबाट विद्युत् उत्पादन गर्ने दिशामा ठोस काम हुनसकेको छैन । दुई वर्षअघि सार्वजनिक भएको नीतिको धरातलमा टेकेर नै पनि सरकारले वायु ऊर्जा विकासका लागि निजी क्षेत्रलाई संलग्न गराई प्रविधि हस्तान्तरण कार्यलाई अघि बढाउन सक्छ । यसो भयो भने मुलुकले अहिले सामना गर्न परिरहेको ऊर्जा सङ्कटको समाधानको दिशामा सानै भए पनि ठोस प्रयास हुनेछ । आˆनो पाकेट खर्च कटाएर बचाएको पैसा खर्च गरी दुई वर्षको अथक मिहिनेतबाट विद्युत् उत्पादन गरेर नेपालमा वायु ऊर्जाको सम्भावनातर्फ सरोकारवालाको ध्यान तानेकोमा काठमाडौं इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू धन्यवादका पात्र छन् ।

http://gorkhapatra.org.np/gopa.detail.php?article_id=16239&cat_id=14


No comments:

Post a Comment