Thursday, March 26, 2009

चमेलियाका मजदुर फेरि आन्दोलित

राजेन्द्र नाथ

चमेलिया -दार्चुला, चैत १२ - सहमतिअनुसार चमेलिया आयोजनाको चिनियाँ कम्पनीले नेपाली मजदुरका माग पूरा नगरेपछि उनीहरू फेरि आन्दोलित भएका छन् ।

विभिन्न माग राख्दै आयोजनाका मजदुरहरू दुई महिनाअघि पनि आन्दोलित भएका थिए । त्यसबेला स्थानीय प्रशासनको रोहवरमा ४५ दिनमा ३४ बुँदे माग पूरा गर्ने सहमति भएको थियो । सहमति भएकामध्ये एउटै पनि माग पूरा नभएकाले फेरि आन्दोलन गर्नुपरेको मजदुर पक्षको भनाइ छ । न्युनतम ज्यालासमेत नदिएर कम्पनीले सम्झौता कागजबिनै सुरुङ तथा विस्फोटका जोखिमपूर्ण काममा लगाइरहेको गुनासो मजदुरको छ । न्यूनतम ज्याला, जीवनबिमा, सातामा एक दिन बिदा, उपचार सुविधा, परिचयपत्रको व्यवस्था पेसागत सुरक्षालगायत माग राखेर मजदुरले आन्दोलन गरेका थिए ।

स्थानीय प्रशासनको मध्यस्थतामा चिनियाँ कम्पनी गेजुवा वाटर एन्ड पावर कम्पनी -सीजीजीसी) र मजदुरबीच ४५ दिनभित्र माग पूरा गर्ने सहमति भएको थियो । 'तर दुई महिना बितिसक्दा पनि एउटै माग पूरा भएको छैन,' अखिल नेपाल निर्माण मजदुर संघका अध्यक्ष हरिचन्द्र साउदले भने । उनले माग पूरा नगरी कम्पनीले तानाशाही शैली अपनाइरहेकाले फेरि आन्दोलनमा उत्रिन बाध्य भएको बताए । मजदुरले ओभरटाइमको समेत व्यवस्था नगरिएको गुनासो गरेका छन् ।

आयोजना प्रमुख केशवराज भट्ट राजधानीमै बस्ने र निर्माण स्थलमा नआउने उनीहरू बताउँछन् । 'भट्टको भूमिका गलत भएकाले पनि मजदुरले दुःख पाइरहेका छन्,' साउदले भने । आयोजना पक्षले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । यो आयोजनाको लागत अनुमानित १० करोड डलर छ । ३० मेगावाट क्षमताको आयोजना साढे चार वर्षमा सकिने लक्ष्य छ ।

Posted on: 2009-03-25 20:46:26
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=186297

No comments:

Post a Comment