Monday, March 30, 2009

तामाकोशी दोस्रो र तेस्रो गाभियो

परियोजनाबाट ६ सय मेगावाट विद्युत
दिनेश कार्की काठमाडौं, चैत १७

तामाकोशी दोस्रो र तेस्रोलाई एउटै परियोजना बनाएर एसएन पावरले ६ सय मेगावाट विद्युत उत्पादन गर्ने भएको छ। जलस्रोत सचिव स्तरीय निर्णयबाट आयोजना गाभिएको र तामाकोशी तेस्रोको नाममा एउटै अनुमतिपत्र दिइएको विद्युत विकास विभागले जनाएको छ।

दोलखा जिल्लामा पर्ने यो परियोजनाको पोखरीमा दैनिक ६ घण्टाको बहावलाई सञ्चय गर्नसक्ने जलाशययुक्त परियोजना बनाउन लागिएको कम्पनीका नेपाल निर्देशक तथा उपाध्यक्ष सन्दिप शाहले बताए। गाभ्नु अघि दोस्रो र तेस्राका लागि कम्पनीले छुट्टाछुट्टै अनुमतिपत्र लिएको थियो।

कम्पनीका अनुसार परियोजना निर्माण गर्न १ खर्ब चार अर्ब ९१ लाख रूपैयाँ (१ दशमलव ३ अर्ब अमेरिकी डलर) लगानी गर्नुपर्ने प्रारम्भिक अनुमान छ। लगानीका लागि इन्टरनेशनल फिनान्स कर्पोरेशन, एसियाली विकास बैंक र अन्य बहुराष्ट्रिय
वित्तीय संस्थासँग छलफल भइरहेको शाहले बताए। शाहका अनुसार सन २०१३ को अन्त्यमा निर्माण शुरू गरी तीन वर्षमा सम्पन्न हुनेछ।
तामाकोशी तेस्रोबाट २ सय ७५ मेगावाट र दोस्रोबाट २ सय ७ मेगावाट विद्युत उत्पादन गर्ने प्रस्तावमा छ। दुइवटा परियोजनालाई गाभेर एउटै बनाउँदा बाँधको उचाइ १ सय २५ मिटरबाट ९५ मिटरमा झारिएको छ। शाहकाअनुसार नयाँ अवधारणा अनुसार परियोजना बनाउँदा २ सय २५ घरधुरी रहेको सिंगटी बजार नडुब्ने भएको छ। ´पहिलाको अवधारणामा सिंगटी भन्दा ६० मिटर माथि पानीको सतह आउने भएकोले त्यो बजार डुब्ने निश्चित थियो´-शाहले भने।

प्रसारण लाइनको अभाव
नेपाल विद्युत प्राधिकरणले बनाउन लागेको २ सय २० केभीको खिम्ती-ढल्केबर लाइनबाट परियोजनाको विद्युत प्रसारण प्रणालीमा लैजान क्षमता अपर्याखप्त हुनेछ।
´त्यो लाइनबाट तामाकोशी तेस्रोको ६ सय मेगावाट विद्युत पनि प्रवाह गर्न ४ सय केभीको समानान्तर लाइन बनाउनुपर्छ´-शाहले भने। सरकार र प्राधिकरणले नबनाएमा एसएन पावरले नैं उक्त प्रसारण लाइन बनाउने शाहले बताए। खिम्तीदेखी ढल्केबरसम्म २ सय २५ किलोमिटर रहेको छ। बढि क्षमताको प्रसारण लाइन बनाउन प्रति किलोमिटर ४ लाख डलर र २ सय २५ किलोमिटर नैं बनाउनका लागि १० करोड
डलर लाग्ने अनुमान छ। ´आसपासका परियोजनाहरूले विद्युत राष्ट्रिय ग्रीडमा जोड्न हामीले निर्माण गरेको लाइन प्रयोग गर्न सक्छन्´, शाहले भने -´त्यस बापत हामी शुल्क लिनेछौं।´ उक्त प्रसारण लाइनबाट आन्तरिक विक्रीबाट बढि भएको विद्युत भारततर्फ निर्यात गरिने लक्ष्य कम्पनीले लिएको छ ।
नर्वेमा मुख्यालय रहेको एसएन पावरले संसारभर हालसम्म ९ सय ६० मेगावाट विद्युत उत्पादन गरेको छ। कम्पनी अन्तर्गत १ हजार ८ सय मेगावाट क्षमताका परियोजना निर्माणाधीन छन भने नेपाल, भारत, श्रीलंका, युगाण्डा, पेरूलगायत मुलुकममा २ हजार मेगावाट बराबरका परियोजनाको संभाव्यता अध्ययन भइरहेको छ।

2009-03-30 19:48:36
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5606

No comments:

Post a Comment