Wednesday, March 18, 2009

अझै घट्न सकेन लोडसेडिङ

काठमाडौँ, चैत ४ गते । विद्युत् सङ्कटकाल घोषणा गरेको तीन महिना बित्नै लाग्दा पनि विद्युत् आपूर्तिमा खास सुधार हुनसकेको छैन । तीनमहिने प्रगति समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले डाक्नुभएको बैठकमा प्रस्तुत गरिएको समष्टिगत मूल्याङ्कनमा लेखिएको छ- "लोडसेडिङमा सुधार हुन सकेन तर थप बढ्न पाएन ।"

पुस ९ गते मुलुकमा ऊर्जा सङ्कटकाल घोषणा गरिएपछि ३५ बुँदे राष्ट्रिय विद्युत् सङ्कट निरूपण कार्ययोजनासमेत पेस गरिएको थियो । २५ वटा तत्कालीन, चारवटा अल्पकालीन र छवटा दीर्घकालीन कार्ययोजनामा पनि उल्लेख्य प्रगति देखिएको छैन, उल्टो जलस्रोत मन्त्रालयले पाँचवटा कार्ययोजना थपेर कार्ययोजनालाई अझ लामो बनाएको छ ।

तत्कालीन २५ बुँदे कार्ययोजनामध्ये चारवटामा अझैसम्म काम हुनसकेको छैन । चारवटा कार्ययोजना मात्र पूर्णरूपमा सफल भएका छन् भने बाँकी १७ वटा कार्ययोजनामा मिश्रति प्रगति भएको जलस्रोत मन्त्रालयको प्रगति विवरणमा छ ।

विद्यमान संरचनामार्फत भारतबाट विद्युत् आयात गर्ने कार्ययोजनामध्ये टनकपुरबाट २० मेगावाट विद्युत् आयात भइरहेको छ भने कटैयाबाट ४० मेगावाट विद्युत् आयात गर्न प्रसारण लाइन बनाउने काम भइरहेको छ । 'यो प्रसारण लाइन तीन महिनाभित्र भारतीय पक्षले निर्माण गरिदिने' प्रगति विवरणमा छ ।

कोसी प्रभावित दुहवी-कटैया प्रसारण लाइन पुनर्निर्माण भएको छ भने त्यहाँबाट ५०-६० मेगावाट नियमित विद्युत् आयात भएको छ । बढीमा दुई सय मेगावाटसम्म तापीय ऊर्जा उत्पादन गर्ने परियोजनालाई राजनीतिक कारणले स्थगित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

बर्दघाट-भरतपुर प्रसारण निर्माणका लागि विश्व बैङ्कसँग छलफल भइरहेको र भरतपुर-हेटाँैडा २२० केभीको प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेकेदार छनोट गरिसकेको तर ठेक्का सम्झौता गर्ने क्रममा रहेको पनि प्रगति विवरणमा उल्लेख छ ।

मस्र्याङ्दी-काठमाडौँ प्रसारण लाइनको सर्भे कार्यका लागि सम्झौता भएको, कालिगण्डकी, काबेली, सुनकोसी-दोलखा, सिङ्गटी-लामोसाँघू र धनकुटा-तिरतिरे कोरिडोरमा प्रसारण लाइन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको पनि प्रगति विवरणमा उल्लेख छ ।

सीएफएल घरदैलो अभियानमा खासै प्रगति भएको छैन भने जनचेतना जगाउने अभियानमा प्रगति भइरहेको जानकारी जलस्रोत मन्त्रालयले दिएको छ । मन्त्रालयले सौर्य ऊर्जालाई प्रोत्साहन गर्ने तथा वायु र फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रममा खासै प्रगति देखिएको छैन ।

कार्ययोजना अनुसार होर्डिङ बोर्डमा विद्युत् आपूर्ति भने बन्द गरिएको छ । यसबाट एक दशमलव दुई प्रतिशत विद्युत् बचत भएको र सहरको सौन्दर्यमा सहयोग पुगेको जनाइएको छ । लघुजलविद्युत् आयोजनाको सीमा वृद्धि र अनुदान थप्ने काम भने ऐन संशोधन गर्नुपर्ने भएकाले रोकिएको तथा क्याप्टिभ जेनेरेसनबाट विद्युत् खरिदका लागि निजी क्षेत्रबाट प्रस्ताव नपरेको पनि प्रगति विवरणमा उल्लेख छ ।

सरकारले तत्कालीन कार्ययोजना अनुसार माथिल्लो सेती र बुढीगण्डकी आयोजनाका लागि प्रवर्द्धन गर्ने उल्लेख भए पनि विद्युत् प्राधिकरणले साझेदार खोजिरहेको जनाइएको छ । त्यसमध्ये १२७ मेगावाट परियोजनाको माथिल्लो सेतीमा जाइकासँग सामान्य छलफल भएको प्रगति विवरणमा उल्लेख छ ।

त्यसैगरी, सरकारले अध्ययन गरेका आठवटा विद्युत् परियोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने कार्ययोजना पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । विद्युत् विकास विभागले त्यसका लागि बोलपत्र प्रस्ताव तयार पारेको बताइएको छ ।

औद्योगिक क्षेत्रमा भने नियमित विद्युत् आपूर्ति भइरहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी भारतबाट थप ६५ मेगावाट विद्युत् आयातका लागि फार्विसगन्ज-विराटनगर ३३ केभी प्रसारण लाइनको सुधार-निर्माणका लागि काम भइरहेको जनाइएको छ । प्रतिवेदन अनुसार भारतबाट थप आउने ६५ मेगावाटमध्ये सुरजपुरबाट ३० मेगावाट विद्युत् ल्याउने प्रयास थालिएको जानकारी दिएको छ ।

त्यसैगरी तत्कालीन कार्ययोजना अनुसार २५ मेगावाटसम्मका जलविद्युत् आयोजनाका लागि विद्युत् खरिद दर निर्धारण गर्ने काम नेपाल विद्युत् प्राधिकरणले गरेको छ । त्यसैगरी सोही कार्ययोजना अन्तर्गत ९९ दिनभित्र विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न गर्ने गरी निर्णय भएको छ भने केही जलविद्युत् परियोजनाबाट विद्युत् खरिद सम्झौतासमेत भएको छ ।

प्रगति विवरण पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्युत्मा क्रान्ति गर्नुपर्ने बताउनुभएको थियो । उहाँले भारतबाट २५ वर्षका लागि चार/पाँच सय मेगावाट विद्युत् ल्याउनुपर्नेसमेत बताउनुभयो । उहाँले सानो-सानो थर्मल प्लान्ट ल्याउनुपर्ने र विद्युत् सङ्कटको सामना गर्न क्रान्तिकारी र नयाँ ढङ्गले काम गर्नसमेत निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठकमा रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइन तत्काल बनाउन पनि निर्देशन दिनुभएको थियो ।

http://gorkhapatra.org.np/gopa.detail.php?article_id=15857&cat_id=14

No comments:

Post a Comment