Sunday, March 29, 2009

नेपाल विद्युत् नियमन आयोग गठन प्रस्ताव

कुमार विवेकानन्द मिश्र

काठमाडौं, चैत १५ गते । विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारलाई नियमन गर्न नेपाल विद्युत् नियमन आयोग गठन गरिने भएको छ ।

व्यवस्थापिका संसद्को हैसियतमा आइतबार सुरु हुने संविधानसभाको बैठकमा छलफलका लागि नेपाल सरकारद्वारा प्रस्तुत विधेयक 'नेपाल विद्युत् नियमन आयोग ऐन ०६५'मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न नियमन गर्ने र विद्युत्को उत्पादन, प्रसारण, वितरण तथा आपूर्ति व्यवस्थालाई भरपर्दाे र प्रभावकारी बनाउन आवश्यक नीति कार्ययोजना तयार गरी नेपाल सरकारसमक्ष सिफारिस गर्ने आयोगको कार्य तोकिएको छ ।

यस्तै विद्युत् सेवाका सञ्चालन तथा मर्मतसम्भारको स्तर तथा कार्यविधि निर्धारण गर्ने र विद्युत् सेवा बन्द गर्नसक्ने अवस्था, त्यसको आधार र प्राथमिकता निर्धारण गर्ने, महसुल निर्धारण गर्ने र विद्युत् बजारमा प्रतिस्पर्धा कायम गर्ने तथा उपभोक्ताको हित संरक्षण गर्नेजस्ता कार्य आयोगको हुने विधेयकमा उल्लेख छ । एकजना अध्यक्ष र कम्तीमा एकजना महिलासहित चारजना सदस्य रहने गरी आयोग गठन गरिने प्रस्ताव विधेयकमा छ ।

आयोगका अध्यक्ष तथा सदस्य सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक सिफारिस समिति रहनेछ । त्यस सिफारिस समितिमा नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल सरकारले मनोनीत गरेको एकजना विद्युत्विज्ञ सदस्य रहने र समितिको सचिवमा जलस्रोत मन्त्रालयका सचिव रहने प्रावधान राखिएको छ ।

विद्युत् नियमन आयोगका पदाधिकारीको पदावधि पाँच वर्षको हुने र पुनः एक पदावधि थपका लागि नियुक्त गर्न सकिने प्रस्ताव विधेयकमा गरिएको कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयले जनाएको छ ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=16337&cat_id=14

No comments:

Post a Comment