Sunday, March 22, 2009

माथिल्लो तामाकोशीको लागत ३२ अर्ब ४८ करोड

वित्तीय व्यवस्थापन ३ महिना भित्रै गरिने
दिनेश कार्की काठमाडौं, चैत ८
स्वदेसी लगानीमै बन्न लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अनुमानित लागत ३२ अर्ब ४८ करोड रूपैयाँ हुने अन्तिम टुंगो लागेको छ। विदेसी परामर्सदाताहरू नरकन्सल्ट एएस र लाम्हेरले सुझाएको लागतसम्बन्धी विस्तृत प्रतिवेदनको तुलनामा झण्डै ६ अर्बले न्यून हो।
विज्ञहरूले पेश गरेको प्रतिवेदनको आधारमा नेपाल विद्युत प्राधिकरण र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बोर्ड बैठकले आयोजनाको लागतको निर्णय गरेको हो। उक्त लागत रकमले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट ३ सय ९ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान छ।

विदेसी परामर्सदाताहरूको अध्ययन प्रतिवेदन सार्वजनिक भएलगत्तै परियोजनाको लागत बढाइएको विषयमा देशव्यापी विरोध भएको थियो। विरोधपछि प्राधिकरणले विज्ञहरूको अध्ययन समिति गठनगरी लागत पूनराबलोकन गर्ने निर्देशन दिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठका अनुसार टुंगो लागेको अनुमानित लागतमा परियोजनाका लागि चाहिने सिमेन्ट र छडको भन्सार मूल्य पनि समावेश छ। यदि भन्सार मूल्यलाई सरकारले छुट दिने हो भने टुंगो लागेको अनुमानित लागतमा ८० करोड रूपैयाँ कम हुनेछ। परियोजना निर्माणको कार्यलाइ द्रुत बनाउन आगामी तीन महिना भित्रमा वित्तीय व्यवस्थापनको पनि निक्र्योल गरिने श्रेष्ठले बताए।

उनले भने-´परियोजनाको नयाँ लागतको बारेमा लगानीकर्तासंस्थाहरूलाई एक-दुइ दिनमै जानकारी दिन्छौं।´ स्वदेसी लगानीमैं परियोजना बन्न लागेको हुनाले सन्चय कोष र बाणिज्य बैंकहरूको सहवित्तीयकरण(कन्सोर्टियम) र नागरिक लगानी कोषसँग जम्मा २० अर्ब रूपैया लगानीको सम्झौता भएको थियो। त्यसमध्ये सन्चय कोषले १२ अर्ब रूपैयाँ, बाणिज्य बैंकहरूले ६ अर्ब रूपैयाँ र नागरिक लगानी कोषले २ अर्ब रूपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका थिए। त्यसैगरी विमा संस्थानले पनि परियोजामा २ अर्ब रूपैया हाल्ने मौखिक सहमति दिएपनि लिखित सम्झौता भने हुन बाँकी रहेको श्रेष्ठले बताए।

ठेक्काको लागि बोलपत्र आब्हान गरिने
आयोजनाको इलेक्ट्रोमेकानिकल कामको लागि आगामी २० दिनभित्र अन्तर्राष्ट्रिय बोलपत्र आब्हान गरिने भएको छ। आयोजनाका सिभिल सम्बन्धी कामको लागि ६ वटा कम्पनीहरू पूर्व योग्यतामा छनौट भइसकेका छन्।

- 2009-03-21 15:52:13
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5207

No comments:

Post a Comment